हेन्ली पासपोर्ट इन्डेक्समा नेपालको सुधार, ९७औँ स्थानमा उक्लियो
काठमाडौं, २१ जेठ २०८३ — विश्वभरका पासपोर्टको शक्ति मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स को सन् २०२६ को प्रतिवेदनअनुसार नेपालको पासपोर्ट र्याङ्किङमा सुधार भएको छ।
प्रतिवेदनअनुसार नेपाल गत वर्षको १०१औँ स्थानबाट उक्लिएर यस वर्ष ९७औँ स्थानमा पुगेको छ। नेपाल र उत्तर कोरिया समान ३५ भिसा-फ्री स्कोरसहित ९७औँ स्थानमा रहेका छन्।
यस वर्ष सिंगापुर को पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले १९२ देशमा भिसाविना प्रवेश गर्न सक्छन्। दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स रहेका छन्, जसका नागरिकले १८७ देशमा भिसाविना यात्रा गर्न सक्छन्।
त्यस्तै, तेस्रो स्थानमा स्विडेन रहेको छ।
छिमेकी राष्ट्र भारत ५७ भिसा-फ्री गन्तव्यसहित ७८औँ स्थानमा रहेको छ भने चीन ८२ भिसा-फ्री स्कोरसहित ५६औँ स्थानमा पुगेको छ। पाकिस्तान भने ३० स्कोरसहित १००औँ स्थानमा रहेको छ।
यसैबीच, गत वर्ष शीर्ष १० बाट बाहिरिएको संयुक्त राज्य अमेरिका पुनः १७९ भिसा-फ्री स्कोरसहित शीर्ष १० मा फर्किएको छ। अमेरिका र आइसल्यान्ड संयुक्त रूपमा १०औँ स्थानमा छन्।
त्यस्तै, बेलायत पनि १८३ स्कोरसहित छैटौँ स्थानमा उक्लिएको छ।
प्रतिवेदनअनुसार विश्वकै सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तान को रहेको छ। अफगान नागरिकले जम्मा २३ देशमा मात्र भिसाविना प्रवेश पाउँछन्। त्यसपछि सिरिया १०२औँ र इराक १०१औँ स्थानमा रहेका छन्।