साहित्यले मानवता जोड्ने माध्यम : सञ्चारमन्त्री तिमिल्सिना
ललितपुर, २१ जेठ २०८३ — डा. विक्रम तिमिल्सिना ले नेपाली साहित्यले विश्वव्यापी मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न निरन्तर प्रयास गर्दै आएको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप २०२६’ को उद्घाटन गर्दै उनले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्न सक्ने बताए।
मन्त्री तिमिल्सिनाले साहित्यलाई मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यमका रूपमा वर्णन गर्दै यसले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनासँग जोड्ने धारणा व्यक्त गरे।
उनले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा तीव्र परिवर्तन भइरहे पनि मानिसहरू अझै अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको उल्लेख गरे।
नेपालमा १२० भन्दा बढी भाषा बोलिने उल्लेख गर्दै उनले प्रत्येक भाषाले आफ्नो विश्वदृष्टि बोकेको र हरेक समुदायका कथा, लोकसाहित्य, मिथक तथा स्मृतिले नेपालको साझा पहिचानलाई समृद्ध बनाएको बताए।
अन्तरराष्ट्रिय साहित्यकारहरूको काठमाडौं भेलाले नेपालका हिमाल, सम्पदा, संस्कृति, भाषा र कथाहरूलाई विश्व समुदायसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।