‘१८ प्लस प्राइभेट भिल्ला पार्टी’को नाममा ठगी, १९ वर्षीय युवक पक्राउ
काठमाडौं — सामाजिक सञ्जालमार्फत आकर्षक अफर देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार ‘प्राइभेट भिल्ला पार्टी (१८ प्लस)’ को नाममा पैसा असुलेर ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा १९ वर्षीय युवकलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारत ओडिसा, केन्द्रापारा (पटामदेही) घर भई हाल काठमाडौं महानगरपालिका–२३, झोछेमा बस्दै आएका सुभम मोहन्ती रहेका छन्। उनलाई बुधबार काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोहन्तीले फेसबुकमा ‘नेपाल सर्भिस’ नामक आईडी तथा ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी आकर्षक अफर देखाएर पैसा लिएर केटी तथा मदिरासहितको पार्टी सेवा दिने भन्दै ठगी गर्दै आएका थिए।
ग्राहकलाई काठमाडौंका विभिन्न स्थानका घरमा लगेर सेवा दिने बहानामा ठगी गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मोहन्तीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको छ।
कार्यालयले सामाजिक सञ्जालमार्फत देखाइने अनावश्यक प्रलोभन र अनलाइन अफरमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। साथै यस्ता गतिविधिमा संलग्नलाई कडा कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।