विश्वकप २०२६: कतारमाथि क्यानडाको ऐतिहासिक जित
जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक जित दर्ता गरेको छ । बिहीबार राति भएको समूह ‘बी’ को एकपक्षीय खेलमा क्यानडाले कतारलाई ६–० को भारी अन्तरले पराजित गरेको हो ।
विश्वकपको इतिहासमा क्यानडाको यो पहिलो जित हो । यो सानदार जितसँगै क्यानडाले २ खेलबाट ४ अङ्क जोड्दै नकआउट चरण मा पुग्ने सम्भावना बलियो बनाएको छ । पराजित कतार भने खेलको अन्तिममा ९ खेलाडीमा समेटिन पुगेको थियो ।
खेलमा क्यानडाले सुरुदेखि नै कतारमाथि पूर्ण दबाब बनाएको थियो । क्यानडाका लागि स्टार फरवार्ड डेभिडले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे । घरेलु दर्शकमाझ आक्रामक खेल पस्किएको क्यानडाले कतारी रक्षापङ्क्तिलाई कुनै अवसर दिएन ।
तनावपूर्ण बनेको खेलको दोस्रो हाफमा कतारका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो । खेलकै क्रममा क्यानडाका मुख्य खेलाडी इस्माएल कोने गम्भीर घाइते भएपछि दुवै टोलीका खेलाडी र स्टाफबीच केही समय विवाद र तनावको स्थिति सिर्जना भएको थियो ।
यो ऐतिहासिक जितपछि क्यानडाका प्रशिक्षक जेसी मार्स निकै उत्साहित देखिएका थिए । घरेलु समर्थकले स्टेडियममा जितको भव्य उत्सव मनाएका छन् ।
समूह ‘बी’ मा अब क्यानडाले आफ्नो अन्तिम खेलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । उक्त खेलमा पराजित भए पनि उत्कृष्ट गोल अन्तरका कारण क्यानडाको अघिल्लो चरणको यात्रा लगभग सुरक्षित देखिएको छ ।