मुस्ताङको लोमान्थाङबाट भेपसहितको २ वटा कन्टेनर नियन्त्रणमा
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट चाइनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जना पक्राउ परेका छन् ।
नियन्त्रणमा लिएकाहरुमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ के.जी. खाली कार्टुन बक्स(सामान प्याक गर्न प्रयोग गरिने खाली बक्स) समेत रहेको थियो ।
नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ ।