सुदन किराती श्रम संस्कृति पार्टीमा समाहित, हर्क साम्पाङद्वारा स्वागत
काठमाडौँ — सुदन किराती श्रम संस्कृति पार्टीमा समाहित भएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले उनलाई औपचारिक रूपमा स्वागत गरेको हो।
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट बाहिरिएपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद् सदस्य रहेका किरातीले केही समयअघि पार्टी परित्याग गरेका थिए।
शुक्रबार उनी आफ्ना समर्थकसहित श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्। पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई अंकमाल गरी स्वागत गरेका थिए।
सम्झौताअनुसार किराती पार्टीको वरिष्ठ नेता बन्ने बताइएको छ। साथै उनको समूहलाई एक सचिवसहित १५ केन्द्रीय सदस्यको जिम्मेवारी दिइने सहमति भएको छ।