प्रतिनिधिसभा अभिलेखबाट विवादित शब्द हटाउन सभामुखको निर्देशन
काठमाडौँ — प्रतिनिधिसभाको दोस्रो पटक बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा “बादल” ले मंगलबार दिएको अभिव्यक्तिबाट तीन वटा शब्द संसद् अभिलेख (रेकर्ड) बाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनाल र रमेश प्रसाईंले बादलको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नियमापत्ति गरेपछि सभामुखले उक्त निर्णय गरेका हुन्।
मंगलबारको बैठकमा बादलले भदौ २३ र २४ गतेको आन्दोलन, नेपाली सेना तथा समसामयिक राजनीतिक घटनाक्रमबारे कडा टिप्पणी गरेका थिए। त्यस क्रममा उनले प्रयोग गरेका केही अभिव्यक्तिहरूलाई लिएर सदनभित्र विवाद उत्पन्न भएको हो।
संसदीय सचिवालयका अनुसार अभिलेखबाट हटाइएका तीन वटा शब्द तथा वाक्यांशहरू यस प्रकार छन्:
“सभालाई अराजकहरूको भीड”
“राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू”
“नेपाली सेना मुकदर्शक”
यस विषयले प्रतिनिधिसभाभित्र थप बहस सिर्जना गरेको छ भने सभामुखले संसदीय मर्यादा तथा नियमअनुसार अभिलेख संशोधन गरिएको बताएका छन्।