सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस
प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ।
वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै शर्माले देशको न्यायिक क्षेत्रको नेतृत्व गर्न लागेका हुन् । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो।
अब शर्मा संसदीय सुनुवाइ छिचोलेपछि प्रधानन्यायाधीशमा बहाल हुनेछन् । यस बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेलगत्तै परिषदको बैठक बोलाइएको हो ।