बस्ती हटाउँदा भत्किएका विद्यालयका विद्यार्थी नजिकैका स्कूलमा स्थानान्तरण
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा भत्काइएका सामुदायिक विद्यालयका विद्यार्थीलाई नजिकैका विद्यालयमा सारिएको छ।
काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई क्रमशः तरुण माध्यमिक विद्यालय र नेपाल युवक मावि, पकनाजोलमा स्थानान्तरण गरिएको हो। दुवै विद्यालयका करिब १२०/१२० विद्यार्थीमध्ये धेरैजसो नयाँ विद्यालयमा भर्ना भइसकेका छन् भने शिक्षकहरू पनि सरुवा गरिएका छन्।
महानगरपालिकाले विस्थापित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सामुदायिक, निजी तथा आवासीय विद्यालयमा निःशुल्क भर्नाको पहल गरेको जनाएको छ।
यसैबीच, भक्तपुरको मनोहरा क्षेत्रको सरस्वती आधारभूत विद्यालय पनि हाल अस्थायी रूपमा सामुदायिक भवनबाट सञ्चालनमा ल्याइएको छ।
बाल अधिकारकर्मीहरूले प्रभावित बालबालिकाको शिक्षा, आवास, यातायात र मनोवैज्ञानिक सहयोग सुनिश्चित गर्न सबै निकाय मिलेर काम गर्नुपर्ने बताएका छन्।