सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा दार्मा गाउँपालिका–२ का ट्याक्टर चालक १७ वर्षीय प्रदीप विक रहेका छन्।
शुक्रबार दिउँसो अन्दाजी साढे १ बजेको समयमा दार्मा गाउँपालिका–२, भुसखोलास्थित भित्री सडक खण्डमा फारुल्लाचौरदेखि भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको थियो।
दुर्घटना लगत्तै गम्भीर घाइते भएका प्रदीपलाई उपचारका लागि स्थानीय थुम्के सल्ली स्वास्थ्य चौकी पुर्याइएको थियो। उपचारकै क्रममा दिउँसो १:५० बजे उनलाई मृत घोषणा गरिएको सल्यान प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही ठाउँका १७ वर्षीय टेक बहादुर विक र २२ वर्षीय विशाल विक घाइते भएका छन्। घाइतेमध्ये टेक बहादुरको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ।
उनको थुम्के सल्ली स्वास्थ्य चौकीमै प्राथमिक उपचार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख हेम बहादुर केसीले बताए।अर्का घाइते विशालको दायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेकाले थप उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ।