‘मानवताका लागि एकबद्ध होऔँ’ नारासहित विश्व रेडक्रस दिवस मनाइयो
काठमाडौँ — रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नारासहित विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष विनोदकुमार शर्मा, महामन्त्री मीनबहादुर मल्ल, आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठ तथा आइएफआरसी नेपाल प्रमुख डेभिड फिसरले संयुक्त रूपमा झण्डोत्तोलन गरेका थिए।
कार्यक्रममा अध्यक्ष शर्माले रेडक्रसमा युवाको उल्लेख्य सहभागिता रहेको र उनीहरूलाई नेतृत्वमा ल्याउने पहल भइरहेको बताए। महामन्त्री मल्लले मानवीय सेवामा स्वयंसेवक र कर्मचारीहरूको आचरणमा मानवता र ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरे।
आइएफआरसी नेपाल प्रमुख डेभिड फिसरले चुनौतीका बीच पनि नेपाल रेडक्रसले भूकम्प, बाढीपहिरो र सुख्खा समयमा गरेको मानवीय सेवा प्रशंसनीय रहेको बताए।
दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए।