ऐलानी जग्गामा रास्वपा सांसद केपी खनालको घर, नक्सापास र लालपूर्जा नभएको खुलासा
कैलाली — कैलालीको लम्की चुहा नगरपालिका–१ बसपार्क नजिकै निर्माणाधीन एक घर सार्वजनिक तथा ऐलानी जग्गामा बनेको भन्दै चर्चा सुरु भएको छ। उक्त घर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य केपी खनालसँग सम्बन्धित रहेको बताइएको छ।
स्थानीय तह र भूमि आयोगसँग सम्बन्धित विवरण अनुसार सो घर अव्यवस्थित बसोबास क्षेत्रभित्र पर्ने र जग्गाको लालपूर्जा अहिलेसम्म जारी नभएको जनाइएको छ। साथै, घर निर्माणका लागि आवश्यक नक्सापास प्रक्रिया पनि पूरा नभएको दाबी गरिएको छ।
नगरपालिका प्रमुख शुशिला शाहीका अनुसार सो क्षेत्रको जग्गा भूमि आयोगमार्फत प्रक्रियामा रहे पनि लालपूर्जा वितरण भने सम्पन्न भइसकेको छैन। उनले ऐलानी जग्गामा बनेका संरचनाहरूको नक्सापास सम्भव नहुने बताउँदै सो घरको नक्सापास नभएको पनि उल्लेख गरिन्।
सांसद खनालका स्वकीय सचिव हर्क पुनले भने घर ऐलानी जग्गामा भए पनि अतिक्रमण गरेर नभएको दाबी गर्दै परिवारले विदेशमा मजदुरी गरी कमाएको पैसाबाट घर निर्माण गरिएको बताएका छन्। उनका अनुसार जग्गा सम्बन्धी स्वामित्व स्पष्ट भइसकेको छैन।
सांसद खनालले यसअघि निर्वाचन अभियानका क्रममा आफूलाई सुकुम्बासी पृष्ठभूमिबाट आएको बताउँदै भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानलाई प्रमुख एजेन्डा बनाएका थिए।
भूमि समस्या समाधान आयोग कैलालीका तथ्यांकअनुसार लम्कीचुहा क्षेत्रमा मात्रै हजारौं परिवार अव्यवस्थित बसोबासमा रहेका छन् भने जिल्लाभर ठूलो संख्यामा भूमिहीन तथा लालपूर्जा विहीन परिवारहरू रहेको उल्लेख छ।
यस विषयले ऐलानी तथा अव्यवस्थित बसोबास क्षेत्रमा राज्यको कारबाही र जनप्रतिनिधिहरूको सम्पत्तिसम्बन्धी पारदर्शिताबारे बहस पुनः चर्काएको छ।