आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी गरेको छ। सामाजिक सञ्जालमा पार्टीको विषयमा विभिन्न टिकाटिप्पणी गरेपछि उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको रास्वपाका एक नेताले जानकारी दिए।
शनिबारदेखि सुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमस्थलबारे पनि उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी छन्।
जावलाखेलको स्टाफ कलेजमा शनिबारदेखि रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रम सुरू भएको छ। आशिकाले सिंहदरबारभन्दा बाहिर कार्यक्रम राखिएकोप्रति सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी छन्।
'संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्ने कुनै बाध्यता पक्कै होइन होला? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिर? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कसले गर्ने?,' उनले भनेकी छन्, 'कि सांसदहरूलाई सुरक्षाको लागि महँगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा? अरु दिन चाहिँ पर्दैन? हामी आफै परिवर्तनको पक्षमा हिडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त?'
यसबारेमा उनलाई स्पष्टीकर सोध्न लागिएको एक नेताले बताएका छन्। आशिका धादिङ-२ बाट निर्वाचित सांसद हुन्।