रामकृष्ण ढकालले प्रहरीमा दिए उजुरी
गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
आफूविरुद्ध भ्रामक प्रचार र मानहानि भएको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएका हुन् । ढकालले बिहीबार उजुरी दिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले बताए ।
आफू विरुद्ध गरिएको भ्रामक प्रचार सहन नसकिने खालको भएको र त्यसविरुद्ध कानुनी कारबाही गर्न ढकालले प्रहरीलाई आग्रह गरेका छन् । पछिल्लो समय फेसबुकमा ढकाल विरुद्ध गालीगलौज गरिएको पोस्टहरू सार्वजनिक भइरहेका छन् ।
जेनजी प्रदर्शन हुँदा रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने क्रममा उनले गाडी चलाएको भन्ने विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरिरहेका छन् । उजुरीबारे सामाजिक सञ्जालमा लेख्दै ढकालले भनेका छन्, ‘यस्ता गतिविधिले मेरो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा गम्भीर आघात पुर्याएको छ ।’
जापानबाट सञ्चालित एक फेसबुक पेजबाट आफू विरुद्ध निरन्तर प्रहार भएको पनि ढकालले बताएका छन् । घृणा फैलाएर आफूलाई मानसिक तनाव दिने फेसबुक आईडीहरुबारे अनुसन्धान गरेर संलग्नलाई कारबाही गर्न उनले माग गरेका छन् ।