रसुवा भन्सारमा सामान जाँचपास सुरु
अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनःसञ्चालन भएको छ । अनिवार्य रूपमा एमआरपी हास्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँचपास हुन थालेको हो ।
गत असार २४ गते गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेस्थित ल्हेन्देखोलामा आएको बाढीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा भन्सार कार्यालय मितेरी पुल निर्माण पश्चात् गत पुस १७ गतेदेखि पुनःसक्रिय रूपमा सञ्चालन हुँदै आएको थियो । करिब पाँच महिनापछि मालसामान आयात गर्दा अनिवार्य एमआरपी टाँस्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै जाँचपास रोकिएको थियो ।
हाल पैठारीकर्ताले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँस गर्ने सहमति पश्चात् भन्सार प्रक्रिया नियमित रूपमा सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार जाँचपास पुनः सञ्चालन भएसँगै राजस्व सङ्कलन वृद्वि हुन थालेको छ ।
भन्सार कार्यालयका अनुसार दैनिक उपभोग्य सामग्रीको जाँचपास सुरु भएको पहिलो दिन बिहीबार करिब रु चार करोड ५० लाख राजस्व सङ्कलन भएको छ भने शुक्रबार थप रु दुई करोड राजस्व सङ्कलन भएको हो । दुई दिनमा करिब रु छ करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए ।
उपभोक्ताको हित संरक्षणका लागि आयातित वस्तुमा अनिवार्य रूपमा एमआरपी (अधिकतम खुद्रा मूल्य) को स्टिकर टाँस्नुपर्ने व्यवस्था यही वैशाख १५ गतेदेखि भन्सार कार्यालयले कार्यान्वयनमा ल्याएको उनले बताए । उक्त व्यवस्था तत्काल कार्यान्वयनमा समस्या देखिएपछि सरकारले सहजता ल्याउनका लागि सरोकार भएका निकायलाई निर्देशन दिएको थियो ।
सोही निर्देशनपछि आयातकर्ताले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँसेर मात्र बिक्री गर्ने सर्तमा भन्सार जाँचपास पुनः सुरु गरिएको प्रमुख भन्सार अधिकृत भट्टराईले बताए ।
सुरक्षा निकायका अनुसार पहिलो दिन ३२ वटा र दोस्रो दिन ४१ वटा गरी ७३ मालवाहक कन्टेनर जाँच पास भई गन्तव्यतर्फ पठाइएको छ । तीमध्ये ३७ वटा कन्टेनरले नेपाली बजारका लागि चिनियाँ स्याउ आयात गरेका छन् ।
ती कन्टेनरलाई राजधानी काठमाडौँ पठाइ सकिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए । उनका अनुसार हाल १५० भन्दा बढी कन्टेनर भन्सार हाताभित्र छन् । आयातकर्ताले परिमाण घोषणा गरेपछि जाँचपास प्रक्रिया तीव्रताका साथ अघि बढाइएको उनले बताए ।