कीर्तिपुरमा युवक हत्या : दुई दिनअघि छुटेका युवक मुख्य आरोपी, अझै फरार
काठमाडौं — कीर्तिपुरमा बस्दै आएका युवक विपिन घिमिरेको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपीहरू अझै पक्राउ पर्न सकेका छैनन्। प्रहरीले घटनामा संलग्न दुई युवकको पहिचान भइसकेको र खोजी कार्य तीव्र बनाइएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार कैलालीका राज विष्टले विपिनमाथि चक्कु प्रहार गरेको खुलेको छ। झै–झगडा कसुरमा पक्राउ परेका विष्ट दुई दिनअघि मात्रै प्रहरी हिरासतबाट छुटेको पाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार चक्कु प्रहारपछि विष्ट ललितपुरको सातदोबाटो–ग्वार्को क्षेत्रमा पुगेको लोकेशन ट्रेस गरिएको छ। यद्यपि उनीसहित अर्का युवक अझै फरार रहेका छन्।
काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा बस्दै आएका बीए अध्ययनरत विपिन घिमिरेमाथि बुधबार दिउँसो आक्रमण भएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले अन्य तीन युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। तीमध्ये एकजनाको गतिविधि शंकास्पद देखिएको प्रहरीको भनाइ छ।
यस घटनाप्रति गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोविन्द पन्थीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
मृतकका आफन्तले अत्यधिक रक्तस्राव र उपचारमा ढिलाइका कारण विपिनको ज्यान गएको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।