प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाउने चार जना पक्राउ
बैतडीको शिवनाथ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
शिवनाथ गाउँपालिका–४ लोजनीमा रहेको श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरेको घटनामा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बैतडीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वैशाख २४ गते बिहान करिब ११ः ४५ बजेको समयमा विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेका बेला प्रधानाध्यापक ओझालाई केही मानिसहरूले बाहिर बोलाएका थिए। बाहिर निस्किएका ओझालाई उनीहरूले कालोमोसो दलेर र जुत्ताको माला पहिर्याएर दुर्व्यवहार गरेका थिए।
सोही घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि प्रहरीले स्थानीय ४२ वर्षीय प्रेम सिंह महता, उनकी ३७ वर्षीया श्रीमती तारा महता, ३८ वर्षीय मोहन सिंह महता र उनकी ३४ वर्षीया श्रीमती सकुन्तला महतालाई पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बैतडीमा राखेर अभद्र व्यवहार गर्न नहुने कसूरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बैतडीबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिएका छन्।