निजगढको होटलमा २५ वर्षीया युवतीको शंकास्पद मृत्यु
बाराको निजगढस्थित एक होटलमा बास बसेकी २५ वर्षीया युवतीको शंकास्पद मृत्यु भएको छ। निजगढ नगरपालिका–९ बुद्धचोकमा रहेको गुरुङ होटलको कोठामा घाइते अवस्थामा फेला परेकी निजगढ नगरपालिका–१२ की सीता थिङको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वैशाख २५ गते राति करिब १० बजेको समयमा थिङ होटलको कोठाभित्र घाइते अवस्थामा फेला परेकी थिन्। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल सामुदायिक अस्पताल प्रसूति गृह पुर्याएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको समयमा मृतक थिङसँगै सोही होटलको कोठामा निजगढ–९ की १८ वर्षीया अनु सुनार रहेको प्रहरीले जनाएको छ। उनीहरूसँगै आएका अन्य दुई युवक भने घटनालगत्तै फरार भएका थिए। फरार हुनेहरूमा जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीका ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन रहेका थिए।
फरार व्यक्तिहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षकको नेतृत्वमा खटिएको टोली र इलाका प्रहरी कार्यालय निजगढको टोलीले प्राविधिक विश्लेषणसहित खोजी अभियान चलाएको थियो।
सो क्रममा प्रहरीले सुनिल बोम्जनलाई राति १ बजे टाँगिया बस्ती नजिकैको जंगल छेउबाट र महेश माझीलाई राति ४ बजे निजगढ–७ माझीटोलबाट नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।