इन्द्रचोक लुटपाट घटनामा संलग्न दुई जना पक्राउ, हतियारसहित सामग्री बरामद
काठमाडौंको इन्द्रचोक र आसपासका क्षेत्रमा भएका लुटपाट घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वैशाख १७ गते इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा हतियार देखाएर लुटपाटको प्रयास भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
अनुसन्धानका क्रममा उनीहरूले यसअघि पनि पुस २१ गते मासान गल्लीस्थित एक होलसेल पसलमा पेस्तोल देखाई लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ। उक्त घटनामा सुन, नगद, मोबाइल र सीसीटीभी उपकरण समेत लुटिएको थियो।
पक्राउ पर्नेमा भक्तपुरका ३० वर्षीय बिकेस राजवाहक र काठमाडौंका ३४ वर्षीय अरुण भुजेल रहेका छन्। उनीहरूको साथबाट पेस्तोल, म्यागजिन, गोली, प्रयोग भएका कपडा र स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ।