क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङको प्रथम जिल्ला भेला सम्पन्न, मोतीराम खड्काको नेतृत्वमा १५ सदस्यीय समिति र ७ सदस्यीय सल्लाहकार गठन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशव्यापी 'पार्टी सङ्गठन सुदृढीकरण अभियान' अन्तर्गत दाङ जिल्ला समितिलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने उद्देश्यका साथ प्रथम ऐतिहासिक जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। भेलाले जिल्लामा पार्टी सङ्गठन विस्तार तथा वैचारिक आन्दोलनलाई सशक्त बनाउने नयाँ सांगठनिक कार्यदिशासमेत पारित गरेको छ।
नेताहरूको उपस्थिति र वैचारिक प्रशिक्षण
जिल्लालाई सुदृढ गर्ने अभियान अन्तर्गत आयोजित यस भेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य तथा ४ नम्बर क्षेत्रीय ब्युरो इन्चार्ज समीरले विशेष वैचारिक प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले वर्तमान राजनीतिक संकटको निकास क्रान्तिकारी कम्युनिस्ट विचार र जनसंघर्षबाट मात्र सम्भव भएको बताउनुभयो।
त्यसैगरी, पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज कमरेड हुकुमले नयाँ नेतृत्व र कार्यसमितिका लागि प्यानल प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने वैकल्पिक केन्द्रीय सदस्य कमरेड लालध्वजले सङ्गठन सुदृढीकरण अभियान र भेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।
१५ सदस्यीय जिल्ला समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन
भेलाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै पार्टीका केन्द्रीय सदस्य मोतीराम खड्कालाई जिल्ला सचिवमा निर्वाचित गरेको छ। जिल्ला सङ्गठनलाई जगैदेखि सुदृढ बनाउँदै सर्वहारा वर्गको हकहित र जनअधिकारका मुद्दा उठान गर्ने प्रतिबद्धतासहित खड्काको नेतृत्वमा १५ सदस्यीय शक्तिशाली जिल्ला समिति गठन गरिएको छ।
यसका साथै, पार्टीको सांगठनिक जगलाई थप परिपक्व र सल्लाह-सुझावसहित अगाडि बढाउन भेलाले ७ सदस्यीय जिल्ला सल्लाहकार समिति समेत गठन गरेको छ।
उत्पीडित समुदायका मुद्दामा संघर्ष केन्द्रित गरिने: नवनिर्वाचित सचिव खड्का
नवनिर्वाचित जिल्ला सचिव मोतीराम खड्काले सङ्गठन सुदृढीकरण अभियानलाई जिल्लाका सबै स्थानीय तह र वडास्तरसम्म पुर्याएर पार्टीलाई थप सशक्त र जनतामुखी बनाउने उद्घोष गर्नुभयो। पदभार ग्रहण गर्दै उहाँले भन्नुभयो, "हामी किसान, मजदुर, युवा तथा उत्पीडित समुदायका आधारभूत मुद्दाहरूलाई केन्द्रमा राखेर संघर्ष अघि बढाउनेछौँ। संगठन निर्माण, वैचारिक प्रशिक्षण तथा जनस्तरसम्म पार्टीको पहुँच विस्तार गर्नु हाम्रो मुख्य प्राथमिकता हुनेछ।"
भ्रष्टाचार र विकृतिविरुद्ध अभियान चलाउने निर्णय
जिल्ला भेलाले सङ्गठन सुदृढीकरण अभियान अन्तरगत दाङभर पार्टीको संगठन विस्तारलाई तीव्र पार्ने निर्णय गरेको छ। यसका साथै जनजीविकासँग जोडिएका समसामयिक मुद्दाहरूमा सक्रिय भूमिका खेल्ने तथा समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती र विकृतिविरुद्ध देशव्यापी अभियानको अंगका रूपमा जिल्लास्तरमा पनि सशक्त आन्दोलन सञ्चालन गर्ने निर्णय भेलाले गरेको छ।
भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरूले देशमा वास्तविक परिवर्तनका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान दाङबाट नयाँ ढंगले अगाडि बढाउने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।