शुभेन्दु अधिकारीले लिए पश्चिम बंगालको मुख्यमन्त्रीको शपथ
भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीले शनिबार कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित एक भव्य समारोहका बिच पश्चिम बंगालको मुख्यमन्त्री पदको शपथ लिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्री अधिकारीसँगै दिलीप घोष, अग्निमित्रा पल, अशोक कीर्तनिया, खुदीराम टुडु र निशिथ प्रमाणिकले पनि मन्त्री पदको शपथ लिएका छन्। मुख्यमन्त्री बनेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले आजको दिन देश र बंगालका लागि निकै महत्त्वपूर्ण रहेको बताए।
उनले नयाँ सरकारले रवीन्द्र जयन्तीकै दिन कार्यभार सम्हालोस् भन्ने प्रधानमन्त्रीको इच्छा रहेको उल्लेख गर्दै भने, ‘प्रधानमन्त्रीको नेतृत्वमा गुरु रवीन्द्रलाई प्रणाम गर्दै र संविधानलाई मान्दै हामीले शपथ लिएका छौँ।’
अधिकारीले डा. श्यामा प्रसाद मुखर्जीको आदर्शमा आधारित राजनीतिक दललाई कुनै प्रमाणपत्रको आवश्यकता नरहेको टिप्पणी गरे। आफू अब सबैको मुख्यमन्त्री भएको स्पष्ट पार्दै उनले भने, ‘म अब मुख्यमन्त्री हुँ र म सबैको हुँ। जो मानिसहरू अझै पनि नतिजाका बारेमा चर्चा गरिरहेका छन्, उनीहरूलाई सद्बुद्धि मिलोस्।’
बंगालको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री अधिकारीले शिक्षा र संस्कृतिमा पुगेको क्षतिलाई सुधार्ने प्रतिबद्धता जनाए। उनले थपे, ‘बंगाललाई धेरै नोक्सान पुगेको छ। शिक्षा सकिएको छ, संस्कृति नष्ट भएको छ र हामी बंगाललाई फेरि बनाउनेछौँ। हाम्रा काँधमा धेरै ठूलो जिम्मेवारी छ। उनीहरूलाई कुरा गर्न दिनुहोस्, म त बस अगाडि बढ्नेछु।’