रुसमा युक्रेनी ड्रोन आक्रमणमा ४ जनाको मृत्यु
युक्रेनको ड्रोन आक्रमणमा रुसका विभिन्न क्षेत्रमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जनाको मृत्यु मस्को क्षेत्रमै भएको हो भने १ जनाको मृत्यु बेल्गोरोड क्षेत्रमा भएको अधिकारीहरूले जनाएका छन् । यो आक्रमणलाई पछिल्लो एक वर्षमा रुसमाथि भएको सबैभन्दा ठुलो ड्रोन हमला भनिएको छ ।
मस्को क्षेत्रका गभर्नर एन्ड्रेई भोरोब्योभका अनुसार खिम्की क्षेत्रमा एउटा घरमा ड्रोन खस्दा एक महिलाको मृत्यु भएको छ । मितिश्ची जिल्लाको पोगोरेल्की गाउँमा दुई पुरुषको मृत्यु भएको पनि उनले बताए । धेरै आवासीय भवन र पूर्वाधारमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा खोजी कार्य जारी राखेको छ ।
मस्कोका मेयर सेर्गेई सब्यानिनका अनुसार रातिदेखि अहिलेसम्म ८१ वटा ड्रोन मस्कोतर्फ आउँदै गर्दा नष्ट गरिएको छ । उनले यो पछिल्लो एक वर्षमा राजधानी माथिको सबैभन्दा ठुलो आक्रमण भएको बताएका छन् । उनका अनुसार करिब १२ जना घाइते भएका छन् । जसमध्ये धेरैजसो मस्कोको तेल प्रशोधन केन्द्र नजिकै घाइते भएका हुन् । तर रिफाइनरीको प्राविधिक संरचना भने क्षतिग्रस्त नभएको दाबी गरिएको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार रातभर र बिहानसम्म कुल ५५६ वटा ड्रोन खसालिएका छन् । यो आक्रमण धेरै क्षेत्रहरूमा फैलिएको थियो । मस्कोको प्रमुख विमानस्थल शेरेमेत्येभो विमानस्थलले पनि आफ्नो क्षेत्रभित्र ड्रोनका टुक्रा खसेको तर कुनै क्षति नभएको जनाएको छ ।