पश्चिम बंगालमा लेनिनको सालिक भत्काइयो
भारतको पश्चिम बंगालमा विधानसभा चुनावपछि तनाव बढेको छ। २९४ सदस्यीय सभामा २०७ सिटसहित बहुमत हासिल गरेको भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले भाकपा (मार्क्सवादी)द्वारा स्थापना गरिएको लेनिनको सालिक भत्काएका हुन्।
भारतीय सञ्चारमाध्यम जी न्युजका अनुसार मुर्सिदावादको जियागञ्ज क्षेत्रमा रहेको सालिक मंगलबार चुनावी परिणाम सार्वजनिक भएपछि भत्काइएको हो। सामाजिक सञ्जालमा “सुवाषचन्द्र घोषको क्षेत्रमा लेनिन चाहिन्न” भन्दै सालिक तोडिएको भिडियोसमेत सार्वजनिक भएको छ।
यसैदिन बीजेपी कार्यकर्ताले ममता बेनर्जी नेतृत्वको तृणमूल कांग्रेसको कार्यालयमा डोजर चलाउनुका साथै आगजनी गरेको आरोप लागेको छ।
भाकपा (मार्क्सवादी)का अनुसार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। क्षेत्रमा अहिले सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।