हावाहुरीले घोराहीमा २ बिघा केराखेती नष्ट, किसानलाई ठूलो नोक्सानी
वैशाख २० गते आएको ठूलो हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ रतनपुरमा लगाइएको केराखेतीमा ठूलो क्षति पुगेको छ।
स्थानीय किसान हुमबहादुर केसीले विद्यालयको जग्गा भाडामा लिएर गरेको व्यावसायिक खेतीअन्तर्गत दुई बिघामा लगाइएको केरा पूर्ण रूपमा नष्ट भएको छ भने थप दुई बिघामा आंशिक क्षति पुगेको छ। बिक्रीका लागि तयार हुँदै गरेको बाली हावाहुरीले नष्ट गरेपछि आफूलाई ठूलो नोक्सानी भएको उनले बताएका छन्।
बिमा नगरेका कारण क्षति अझ बढेको किसानको भनाइ छ। केसीले चार वर्ष जापानमा काम गरेर फर्किएपछि स्वदेशमै कृषि व्यवसाय सुरु गरेका थिए।
उनले केराखेतीसँगै ब्रोइलर कुखुरापालन र अन्य बाली पनि गर्दै आएका छन् भने चार जना स्थानीयलाई रोजगारी समेत दिएका छन्।