बडिमालिका दर्शनका लागि गएका राष्ट्रिय सतर्कता केन्द्रका अधिकृतको बाटोमै मृत्यु
बाजुरा — प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको दर्शनका लागि जाँदै गरेका राष्ट्रिय सतर्कता केन्द्रका लेखा अधिकृत विश्वराज पन्थीको बाटोमै मृत्यु भएको छ।
काठमाडौँस्थित राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत ५६ वर्षीय पन्थी रुपन्देहीको भैरहवाका स्थायी बासिन्दा हुन्। उनी चार जनाको टोलीसहित बडिमालिकातर्फ प्रस्थान गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार सदरमुकाम मार्तडीबाट पैदल यात्रा सुरु गरेको करिब तीन घण्टापछि जङ्गलको बाटोमा पन्थी अचानक बेहोस भएका थिए। उनलाई तत्काल उद्धार गरी बचाउने प्रयास गरिए पनि शनिबार साँझ ५ः५० बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पन्थीलाई पहिलेदेखि नै मुटुसम्बन्धी समस्या रहेको खुलेको छ। उकालो तथा कठिन पदमार्गमा हिँड्ने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
बडिमालिकाको यात्रा कठिन र उच्च उचाइमा हुने भएकाले स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिलाई विशेष सतर्कता अपनाउन तथा एक्लै यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।