हराएको ३५ लाख पर्ने मोटरसाइकल दुई हप्तामा फेला
काठमाडौँको बबरमहलबाट हराएको ३५ लाख मूल्य पर्ने मोटरसाइकल दुई हप्तामा ट्राफिक प्रहरीले भेट्टाइदिएको छ ।
अप्रिला कम्पनीको बा.७७ प ८८४८ नम्बरको मोटरसाइकल दुई साताअघि बबरमहलबाट हराएको थियो । आफ्नो सवारी हराएकोबारे मोटरसाइकल धनी अलिङ्क लामिछानेले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सूचना दिएका थिए ।
खोजतलास गर्दा कालोपुलमा सो मोटरसाइकल भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रमको बिचमा सो मोटरसाइकल सहित पछिल्लो समय भेटिएको ६५ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
ट्राफिकको चोरी नियन्त्रण गर्ने टिमले विभिन्न समयमा हराएका ३ जना प्रहरी कर्मचारीको मोटरसाइकल पनि भेट्टाइदिएको छ । दुई जना सशस्त्र प्रहरी र एकजना नेपाल प्रहरीका नायव निरीक्षक (सई)को मोटरसाइकल भेट्टाएर धनीलाई हस्तान्तरण गरेको हो ।
सशस्त्र प्रहरीका सई वसन्त कुमार श्रेष्ठको बा.६९ प १०६० नम्बरको मोटरसाइकल रानीपोखरीबाट हराएको थियो । सोह्रखुट्टेमा फेला परेको सो मोटरसाइकल उनले आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आएर रिसिभ गरेका छन् ।
ट्राफिक प्रहरी कार्यालयमा कार्यरत सई सुरज कार्कीको मोटरसाइकल जेनजी प्रदर्शनमा हराएको थियो । रामशाहपथ स्थित बग्गीखाना बाट हराएको बा.६० प ५२८२ नम्बरको मोटरसाइकल फेला परेको छ ।
सशस्त्र प्रहरीमा कार्यरत रामकुमार लामिछानेले चढ्ने बागमती प्रदेश–०२–०२७ प ४३९७ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । शुभकामना चोकबाट हराएको उनको मोटरसाइकल नेपालटारमा फेला परेको हो ।
लामो सयमदेखि हराएको मोटरसाइकल फिर्ता पाउँदा दुई पाङ्ग्रे सवारीका धनीहरूले खुसी व्यक्त गरेका छन् ।