छुरा प्रहारबाट एक युवकको हत्या
धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान उपमहानगरपालिका–१० का २८ वर्षीय जीवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङहोम लगिएकामा उपचारका क्रममा आइतबार दिउँसो भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेबेले जानकारी दिए।
घटनामा छुरा प्रहार गर्ने धरान उपमहानगरपालिका–१९ का अर्जुन विश्वकर्मा फरार रहेकाले खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।