प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, सिफारिस बदरको माग
काठमाडौँ — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नयाँ प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी संवैधानिक परिषद्को सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
त्रिपाठीले शुक्रबार बिहान सर्वोच्च अदालतमा रिट पेश गर्दै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरिएको सिफारिस संविधानको आधारभूत परिकल्पनाविपरीत रहेको दाबी गरेका छन्।
उनका अनुसार उक्त सिफारिसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गर्ने तथा न्यायपालिकालाई कार्यपालिकामातहत ल्याउने प्रयास भएको जिकिर गरिएको छ।
रिटमा संवैधानिक परिषद्को सिफारिस बदर गरी पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई प्रधानन्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरिएको छ।
त्रिपाठीको रिट हाल दर्ता प्रक्रियामा रहेको बताइएको छ।
यसअघि बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले बहुमतका आधारमा पहिलो वरीयताकी मल्ललाई रोक्दै चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।