गोकर्णेश्वरमा धूमधामका साथ मनाइयो उभौली पर्व
जाडो मौसम सकिएर गर्मी सुरु भएसँगै किरात समुदायले मनाउने महत्त्वपूर्ण पर्व उभौली शुक्रबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ। प्रकृति र पुर्खाप्रति सम्मान व्यक्त गर्ने यस पर्वसँग मानिस तथा जीवजन्तुहरू उकालो क्षेत्रतर्फ सर्ने परम्परा जोडिएको छ।
यसै समयदेखि खेतीपातीको सुरुवात हुने भएकाले उभौलीलाई कृषि चक्रसँग पनि जोडेर हेरिन्छ। यस अवसरमा राजधानीको गोकर्णेश्वरमा विशेष कार्यक्रमको आयोजना गरी उभौली पर्व मनाइएको हो।
कार्यक्रममा किरात समुदायका मानिसहरू पारम्परिक भेषभूषामा सजिएर साकेला नाच प्रस्तुत गरेका थिए। ढोल, झ्याम्टा र मौलिक बाजागाजासहित प्रस्तुत गरिएको साकेला नाचले वातावरण थप उल्लासमय बनेको थियो। सहभागीहरूले प्रकृति, भूमि र पुर्खाहरूको स्मरण गर्दै शुभकामना आदानप्रदान गरेका थिए।
उभौली पर्वले किरात समुदायको सांस्कृतिक पहिचानलाई जोगाउँदै पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको विश्वास गरिन्छ। साथै, यस पर्वले मानिसलाई प्रकृतिसँग नजिक रहन र वातावरण संरक्षणको सन्देश पनि दिने गर्दछ।