कांग्रेस विवाद समाधान प्रयास: थापा–शर्माद्वारा खड्कासँग वार्ता
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान हुन नसकिरहेका बेला बुधबार शीर्ष तीन नेताबीच महत्वपूर्ण छलफल भएको छ।
सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उनको निवास गल्फुटारमा भेटेर करिब डेढ घण्टा संवाद गरेका हुन्। बिहान ११ बजेदेखि सुरु भएको छलफलबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
सर्वोच्च अदालतको फैसलापछि थापालाई पार्टीको आधिकारिकता प्राप्त भए पनि शेरबहादुर देउवा पक्षलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको बताइएको छ। यद्यपि, खड्का पक्षले यही वैशाखमै १५औँ महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ भने थापा पक्षले भदौ–असोजतिर महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
यस्तो अवस्थामा खड्का समूहलाई पार्टीभित्रै समेटेर लैजान चुनौती रहेको भन्दै संवादलाई निरन्तरता दिइएको जनाइएको छ।
खड्कासँगको छलफलपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक पनि सुरु भएको छ, जहाँ समसामयिक विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ।