बजेट अधिवेशनको पहिलो बैठकमै सरकारविरुद्ध विपक्षीको प्रतिवाद तयारी
सोमबार बस्न लागेको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारविरुद्ध प्रश्न उठाउने तयारी गरेका छन्।
दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि विपक्षी दलहरू संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सरकारका विभिन्न निर्णय तथा सुकुम्बासी व्यवस्थापनका नाममा भएको ज्यादतीको विषयलाई लिएर सामूहिक प्रतिवादको तयारीमा जुटेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित अन्य विपक्षी दलहरू सरकारविरुद्ध एकजुट देखिएका छन्। यसका लागि दलहरूबीच आन्तरिक छलफलसमेत भएको बताइएको छ।
सोमबार सरकारले प्रतिनिधिसभाका तीनवटा बैठक बोलाएको छ। साथै राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
पछिल्लो समय बालेन्द्र शाह नेतृत्वको सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाउँदै विपक्षी दलहरूले संसद्मा संयुक्त रूपमा आवाज उठाउने तयारी गरेका हुन्।