पोखरा महानगरद्वारा ७,५०० केजी धानको बीउ वितरण, किसानलाई ५०% अनुदान
पोखरा महानगरपालिकाले चालु वर्षमा किसानलाई सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ। कृषि विकास शाखाका प्रमुख मनहर कडरियाका अनुसार महानगरले किसानहरूबाट माग सङ्कलन गरी ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन लागेको हो।
महानगरभित्रका एक हजारभन्दा बढी किसानले करिब २१ हजार किलोग्राम धानको बीउ माग गरे पनि सोहीअनुसार आपूर्ति गर्न नसकिएको उनले बताए। पोखरामा विशेषगरी ‘पोखरेली जेठो बुढो’ जातको धानको माग अत्यधिक रहेको जनाइएको छ। वितरण गरिने बीउमध्ये दुई हजार किलोग्राम ‘राम धान’ र बाँकी ‘पोखरेली जेठो बुढो’ रहेको कडरियाले जानकारी दिए।
महानगरपालिकाले स्थानीय किसानबाट प्रतिकिलो दुई सय रुपैयाँमा बीउ खरिद गरी ५० प्रतिशत अनुदानमा प्रतिकिलो एक सय रुपैयाँमा किसानलाई उपलब्ध गराउँदै आएको छ। यस कार्यक्रममार्फत किसानलाई धानको बीउ उत्पादनमा प्रोत्साहन दिइँदै आएको छ।
हाल वडा नम्बर १३, २३, २६, २९ र ३० का किसानहरूले धानको बीउ उत्पादन गरिरहेका छन्। साथै, स्थानीय ‘अनदी’ र ‘पहेँले’ जातका धानको संरक्षणका लागि जैविक स्रोत संरक्षण अभियानमार्फत उत्पादित बीउ पनि किसानलाई उपलब्ध गराइँदै आएको छ।