वैशाख २८ मा सङ्घीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिबाट सम्बोधन हुने
काठमाडौँ — मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आह्वान गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसका लागि राष्ट्रपतिसमक्ष औपचारिक अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
बैठकले विदेशस्थित १५ जना नेपाली अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई अन्तर्राष्ट्रिय महासन्धि सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ संसद्मा पेश गर्न अनुमति दिएको छ।
साथै, श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि, १९४७ (सी–०८१ श्रम निरीक्षण महासन्धि, १९४७) अनुमोदनका लागि सङ्घीय संसद्समक्ष पेश गर्न पनि स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।