प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको आपत्ति, प्रक्रिया गलत भएको आरोप
काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा साम्पाङले सरकारले विधि र पद्धति मिचेर नियुक्तिका लागि सिफारिस गरेको आरोप लगाएका छन्। उनले संसद् छलेर र राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइनु नै गलत भएको बताएका छन्।
उनका अनुसार वरियतामा चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने निर्णय ठूलो गल्ती हो र यसलाई स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ।
साम्पाङले विशेषगरी आफ्नै पार्टीकी उपसभामुखको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्। उनले एमसीसी र एसपीपी जस्ता विषय उठाएर दबाब सिर्जना गरिएको अवस्थामा पनि वरियताको उल्लंघन गर्दै निर्णयमा हस्ताक्षर गरिएको भन्दै त्यसलाई खेदजनक भनेका छन्।
उनले यस नियुक्ति प्रक्रियामा राजनीतिक तथा कानुनी स्वार्थ लुकेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। साथै सहकारी ठगी प्रकरण र भदौ २३–२४ को ‘जेनजी’ आन्दोलन जस्ता विषयमा प्रभाव पार्न सरकार यस्तो निर्णयतर्फ गएको हुनसक्ने दाबी पनि गरेका छन्।