जोगवनी बजार सुनसान, नेपाली बजारमा बढ्यो चहलपहल
विराटनगर, १९ बैशाख — भारतीय बजारबाट रु १०० भन्दा बढी मूल्यका सामग्री खरिद गरी नेपाल ल्याउँदा भन्सार महसुल लाग्ने सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि सीमावर्ती जोगवनी बजार सुनसान बन्दै गएको छ। यसको विपरीत, नेपाली बजारमा उपभोक्ताको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ।
यसअघि नेपाली उपभोक्ताहरू दैनिक उपभोग्य वस्तु—खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायत सामग्री खरिद गर्न जोगवनी पुग्ने गरेका थिए। तर नयाँ नियम कार्यान्वयनसँगै यस्तो गतिविधिमा कमी आएको छ, जसले स्थानीय बजारलाई चलायमान बनाएको व्यवसायीहरू बताउँछन्।
विराटनगर महानगरपालिका–९ मा शुभम इम्पोरियम सञ्चालन गर्दै आएका व्यवसायी अशोक साहका अनुसार पछिल्लो समय स्थानीय ग्राहकको आगमन बढेको छ। उनले सरकारको निर्णयले स्थानीय व्यापारी, उद्यमी तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुर्याएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
उनका अनुसार पहिले साइकलमा धेरै झोला बोकेर सीमापारबाट सामग्री ल्याउने क्रम सामान्य थियो, तर अहिले भन्सार कडाइ भएपछि यस्तो गतिविधि नियन्त्रणमा आएको छ। यसले नेपाली बजारमा व्यापार बढ्नुका साथै आर्थिक गतिविधि समेत सक्रिय बन्दै गएको उनले बताए।
हाल विराटनगर बजार, महेन्द्र चोक, बसपार्क तथा शनि मन्दिर क्षेत्रका व्यापारिक केन्द्रहरूमा उपभोक्ताको भीड बढ्न थालेको छ। विगतमा नेपाली बजार सुनसान हुने र जोगवनीमा भीड लाग्ने अवस्था क्रमशः उल्टिँदै गएको व्यवसायीहरू बताउँछन्।
उता जोगवनी क्षेत्रमा खाद्यान्न, कपडा, मोबाइल तथा अन्य सामग्रीका पसलहरूमा ग्राहकको उपस्थिति घट्दै गएको स्थानीय व्यापारीहरूको भनाइ छ। सडक किनारमा राखेर गरिने साना व्यापारहरूमा समेत नेपाली उपभोक्ताको संख्या घटेको देखिएको छ।
विराटनगर भन्सार कार्यालय यात्रु शाखाका नायब सुब्बा हरिहर काफ्लेले रु १०० भन्दा बढीको सामानमा भन्सार लाग्ने नियम कडाइका साथ लागू भएसँगै भारतीय बजारतर्फ जाने नेपाली उपभोक्ताको संख्या घटेको जानकारी दिए। उनका अनुसार हाल दैनिक १२ देखि १५ जनाले भन्सार महसुल बुझाउने गरेका छन्।
सरकारको यो निर्णयले स्वदेशी बजारमा सकारात्मक प्रभाव पार्दै स्थानीय उत्पादन र व्यापार प्रवर्द्धनमा सहयोग पुगेको देखिएको छ।