लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा चिनियाँ विद्यार्थी फु छियाङ ‘शैक्षिक दूत’ नियुक्त
रूपन्देही — लुम्बिनी बौद्ध विश्वविद्यालय ले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान–प्रदान दूत’ नियुक्त गरेको छ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुवर्णलाल बज्राचार्यले फु छियाङलाई दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका हुन्।
विश्वविद्यालयका अनुसार फु छियाङले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान तथा विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
सन् २०२५ देखि विश्वविद्यालयमा बौद्ध दर्शनशास्त्र अध्ययनरत उनले चीनबाट परोपकारी सहयोग जुटाएर नेपाली ग्रामीण क्षेत्रमा इनार निर्माण, विश्वविद्यालय पुस्तकालय सहयोगलगायत विभिन्न सामाजिक तथा शैक्षिक परियोजनामा सक्रिय भूमिका खेलेका छन्।
त्यस्तै, उनले चीनमा विश्वविद्यालयको शैक्षिक वातावरण र विशेषताबारे प्रचार–प्रसार गर्दै चिनियाँ विद्यार्थी आकर्षित गर्न योगदान दिएको विश्वविद्यालयले जनाएको छ। उनकै पहलमा केही चिनियाँ विद्यार्थी विश्वविद्यालयमा भर्ना भएका छन्।
नवनियुक्त दूत फु छियाङले बौद्ध दर्शन अध्ययनलाई अझ सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपालकै एकमात्र बौद्ध विश्वविद्यालयको पहिचान र बौद्ध धर्मको वास्तविक सार विश्वसामु पुर्याउने लक्ष्य लिएको बताएका छन्।