सरकारद्वारा १२ ट्रेड युनियनको दर्ता खारेज
काठमाडौं — सरकारले विभिन्न १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती सेवा ऐन २०४९ र स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका गरी कुल १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो।
विभागका अनुसार निजामती सेवा ऐनअन्तर्गत दर्ता भएका ८ वटा र स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका ४ वटा ट्रेड युनियनको दर्ता खारेज गरिएको हो।
खारेज भएका संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल लगायत छन्।
त्यस्तै स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको पनि दर्ता खारेज गरिएको विभागले जनाएको छ।
सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत दलगत निजामती कर्मचारी संगठन तथा राष्ट्रिय स्तरका ट्रेड युनियनको संरचनामा परिवर्तन गरेपछि यो निर्णय गरिएको बताइएको छ।
विभागका पञ्जिकाधिकारीको बुधबार बसेको निर्णयअनुसार उक्त ट्रेड युनियनहरूको दर्ता औपचारिक रूपमा खारेज गरिएको हो।