काभ्रेस्थलीमा महिलामाथि कुटपिट गरी लुटपाट गर्ने चारजना पक्राउ
काठमाडौंको तारकेश्वर नगरपालिकामा महिलालाई कुटपिट गरी लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने एक महिलालाई आक्रमण गरी उनले कानमा लगाएको सुनको रिङ लुटेर फरार भएको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा नुवाकोट स्थायी घर भई हाल तारकेश्वर-५ बस्ने ३४ वर्षीय शंकर बहादुर तामाङ, तारकेश्वर-८ का ५० वर्षीय राजु तामाङ, तारकेश्वर-४ का ३३ वर्षीय गुणराज खनाल र तारकेश्वर-५ का ४३ वर्षीय प्रेम तामाङ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न लुकिछिपी बसेको स्थानबाट नियन्त्रणमा लिएको हो।
पीडित महिलालाई एक्लो फेला पारी शारीरिक चोट पुर्याउँदै जबर्जस्ती सुनका गहना तानेर उनीहरू भागेका थिए। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।