सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रलोपासँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका छन् ।
उनले यस यात्रामा मार्गदर्शन गर्ने नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गर्दै पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको उल्लेख गरेका छन् ।
उनले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने जनाएका छन् ।
किरातीले जनसमुदायको भरोसा र शहीदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा समेत गरेका छन् ।
उनले आफ्नो आगामी राजनीतिक बाटो सजिलो नभए पनि जनताको विश्वास र शहीदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने दृढता व्यक्त गरेका छन् ।