काठमाडौँमा ट्राफिकको ‘सर्प्राइज चेकिङ’: ९८ चालक कारबाहीमा
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘सर्प्राइज चेकिङ’ अभियानका क्रममा ९८ जना सवारी चालक कारबाहीमा परेका छन्। सुरक्षित सडक यात्रा सुनिश्चित गर्ने उद्देश्यले सोमबार गरिएको उक्त चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई प्रहरीले कारबाही गरेको हो।
प्रहरीका अनुसार कारबाहीमा परेकामध्ये ७ जना चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको पाइएको थियो। मापसे गरेर सवारी चलाउनु कानुनविपरीत र ज्यानै जान सक्ने जोखिमपूर्ण कार्य भएकाले उनीहरूलाई कडा कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यसैगरी, ट्राफिक नियमको सामान्य पालना नगर्ने अन्य ९१ जना चालक पनि कारबाहीको दायरामा आएका छन्। जसमा रातो बत्ती उल्लङ्घन गर्ने, लेन अनुशासन कायम नगर्ने र सडक नियम मिच्नेहरू रहेका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि यस्ता आकस्मिक चेकिङ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ।