थाइल्याण्डबाट ल्याइएको ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
थाइल्याण्डबाट अवैध रूपमा लागुऔषध गाँजा ओसारपसार गर्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ। ब्युरोको टोलीले उनीहरूको साथबाट ७ किलो गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा ३९ वर्षीय भारतीय नागरिक मोहसिन सलाउद्दीन खान र ३१ वर्षीय मोहम्मद राहिल मोहम्मद ताहिर गङ्गु रहेका छन्।
ब्यूरोले आइतबार दिएको जानकारी अनुसार शनिबार फ्लाई दुबईको उडानमार्फत बैंककबाट दुबई हुँदै काठमाडौं ओर्लिएका मोहसिन सलाउद्दीन खानलाई प्रहरीले शंका लागेपछि विमानस्थलदेखि नै कडा निगरानीमा राखेको थियो।
खान गौशालास्थित काठमाडौं महानगरपालिका वडा नं. ९ मा रहेको एक होटलमा प्रवेश गरेपछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।
खान बसेको होटलको कोठामा अर्का भारतीय नागरिक मोहम्मद राहिल पहिलेदेखि नै बसिरहेका थिए। प्रहरीले उनीहरूले साथमा ल्याएको दुई वटा झोला खानतलासी गर्दा ७ किलो लागुऔषध गाँजा फेला पारेको हो।
थप अनुसन्धानका क्रममा मोहम्मद राहिल चैत २६ गते नै मलेसिया एयरलाइन्सको उडानमार्फत बैंककबाट क्वालालम्पुर हुँदै काठमाडौं आएर उक्त होटलमा बसेको खुलेको छ। उनी होटलमा बसेर मोहसिनको प्रतीक्षा गरिरहेको र मोहसिन २८ गते गाँजासहित आएपछि दुवै जनालाई प्रहरीले एकैसाथ पक्राउ गरेको हो।
ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार, पक्राउ परेका दुवै अभियुक्तहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ।