जेसिबीसँग कार ठाेक्किँदा एकै परिवारका पाँच घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।
झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसिबीसँग सोही दिशाबाट नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उहाँकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, छोरा तीन वर्षीय आयान ज्ञवाली, नौ महिनाका वेदाक्ष ज्ञवाली र आमा ५६ वर्षीया कमला ज्ञवाली घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । कारले मोटरसाइकललाई जोगाउन खोज्दा जेसिबीमा ठाेक्किएको उनले बताए । घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएको छ ।