निलम्बित सांसद सिंहसहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
विशेष अदालतले मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको छ ।
साेमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सरोजकुमार सिंहसहित १६ जनाको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको छ । यो मुद्दामा बहस नोट प्राप्त भएपछि अन्तिम सुनुवाइ गरेर फैसला गर्नेछ ।
मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको थियो । उपभोक्ता समितिको खाताहरूमा जम्मा दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा दाखिला गरेर हिनामिना गरेको अभियोगमा सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
सिंहसहित रमेश मडर,अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, विभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगिन्दर महतो, सुनयना कुमारी,यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
अख्तियारले धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २६० रुपैयाँ, उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीसँग ६ लाख ५७ हजार ७०० बिगो माग दाबी गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो ।
त्यस्तै उपभोक्ता समितिको अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवी भन्ने स्वीकृति देवीसँग २ लाख १४ हजार ३ सय ५० रुपैयाँ, माईस्थान मन्दिरको सौन्दर्यीकरण उपभोक्ता समितिको अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभादेवी खत्वेसँग १ लाख ५० हजार, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र कुमार झासँग १८ लाख ९१ हजार ९ सय रुपैयाँ, उपभोक्ता समितिको कोषाध्यक्ष मञ्जु देवी पासमानसँग २१ लाख ९३ हजार ८ सय १५ रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सिंहले मधेस प्रदेश, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटमा विनियोजन भएको रकमबाट मधेस प्रदेश, महोत्तरी जिल्ला क्षेत्र नं.४ (ख) अन्तर्गतका रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरूमा विकास योजनाहरू सञ्चालन गर्नको लागि गठन भएका उपभोक्ता समितिहरू देवी माहारानी सौन्दर्यीकरण उपभोक्ता समिति, मनराशिसवा न.पा. वडा नं. २ कट्टी, रधवा पिपल गुरुकुल एकेडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी गा.पा. वडा नं. ५ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समिति र मनराशिसवा न.पा.वडा नं. ७, कञ्चनियामाई मन्दिर सौन्दर्यीकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर–५, कञ्चनपुरबाट कमिसन लिएको अनुसन्धानमा देखिएको छ ।