रास्वपा बागचौरद्वारा चुनावी समीक्षा: वैशाख २० भित्र वडा कमिटीहरू गठन गरिने
सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागचौर नगर कमिटीले स्थानीय तहमा आफ्नो संगठनलाई थप मजबुत र व्यवस्थित बनाउने रणनीति अघि सारेको छ। नगर सभापति विजय ओलीका अनुसार हालै सम्पन्न पालिका स्तरिय बैठकले चुनावी समीक्षा गर्दै वडा तहसम्म संगठन विस्तार गर्ने विशेष निर्णय गरेको हो।
नगर सभापति ओलीको अध्यक्षतामा सम्पन्न उक्त समीक्षा बैठकमा जिल्ला कार्यसमिति सदस्य शेर बहादुर खत्री विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। बैठकमा विगतको निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा, सांगठनिक कमजोरी र आगामी सम्भावनाबारे घनिभूत छलफल भएको जानकारी सभापति ओलीले दिनुभयो। "हामीले विगतका उपलब्धि र कमजोरी दुवैलाई वस्तुनिष्ठ ढंगले विश्लेषण गरेका छौँ," ओलीले भन्नुभयो, "अबको हाम्रो ध्यान संगठनलाई जगैदेखि बलियो बनाउनमा केन्द्रित हुनेछ।"
बैठकले आगामी वैशाख २० गतेभित्र बागचौर नगरपालिकाको वडा नं. २ र ५ मा वडा कमिटी गठन गर्ने कार्यतालिका पारित गरेको छ। नगर सभापति विजय ओलीका अनुसार बाँकी वडाहरूमा पनि संगठन पुनर्गठनको प्रक्रियालाई तीव्रता दिइनेछ। पालिका स्तरमा पदाधिकारीहरूको सक्रियता बढाउन अबदेखि हुने नियमित बैठकहरूमा अनिवार्य उपस्थितिको निर्णय समेत गरिएको उहाँले बताउनुभयो।
पार्टीलाई पालिका स्तरमै मजबुत बनाउने लक्ष्यसहित आयोजित सो कार्यक्रममा पालिका स्तरिय नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। सभापति ओलीले संगठन विस्तार र सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राख्दै आगामी दिनमा रास्वपालाई वडा तहसम्मै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहभागीहरूले पनि जनताका मुद्दाहरूलाई उठान गर्दै पार्टीको विचार गाउँ-गाउँसम्म पुर्याउने संकल्प गरेका छन्।
रास्वपाले स्थानीय तहमा आफ्नो राजनीतिक प्रभाव बढाउन र संगठनलाई चुस्त राख्न यो रणनीतिक कदम चालेको नगर सभापति विजय ओलीले जानकारी दिनुभयो।