गण्डकी प्रदेशमा यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री
पोखरा । यशोदा रिमाल गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रीमा नियुक्त भएसँगै पद तथा जिम्मेवारी सम्हाल्नुभएको छ। बुधबार मात्रै मन्त्रीमा नियुक्त हुनुभएकी रिमालले पदबहाली गर्दै प्रदेशको उद्योग, पर्यटन र समग्र आर्थिक विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
लामो समयदेखि राजनीतिमा सक्रिय रिमाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) की केन्द्रीय सदस्य हुनुहुन्छ। करिब २५ वर्षदेखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी उहाँ यसअघि गण्डकी प्रदेश सभा सदस्यका रूपमा समेत कार्यरत रहनुभएको थियो। प्रदेश सभामा रहँदा उहाँले लमजुङका विभिन्न विकाससम्बन्धी मुद्दा उठाउँदै नीति निर्माणमा सक्रिय भूमिका खेल्नुभएको थियो।
लमजुङको बेसीशहर नगरपालिका-६ मा जन्मनुभएकी रिमालले विद्यालय जीवनदेखि नै सामाजिक न्याय, समानता र प्रजातन्त्रप्रति रुचि राख्दै विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गर्नुभएको थियो। अनेरास्ववियुमा आबद्ध हुँदै सुरु भएको उहाँको राजनीतिक यात्रा पछि पार्टीका विभिन्न तहमा नेतृत्वदायी भूमिकासम्म पुगेको हो। वैवाहिक जीवनसँगै पारिवारिक जिम्मेवारी सम्हाल्दै पनि उहाँले निरन्तर रूपमा पार्टी संगठन विस्तार, आन्दोलन र जनसरोकारका मुद्दामा सक्रियता देखाउनुभएको छ।
रिमालले विशेषगरी महिला सशक्तीकरण, युवा सहभागिता, सामाजिक न्याय र विकासका एजेन्डामा केन्द्रित भएर काम गर्दै आउनुभएको छ। उहाँ अनेरास्ववियु तथा अखिल नेपाल महिला संघ लमजुङको पूर्व अध्यक्षसमेत रहनुभएको छ भने सहकारी, गैरसरकारी संस्था तथा समुदायस्तरका विभिन्न विकास परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ।
उहाँको संलग्नता वन, स्वास्थ्य, साना उद्योग, शिक्षा तथा वातावरण संरक्षणजस्ता क्षेत्रमा पनि उल्लेखनीय रहेको छ। साथै नेपाल रेडक्रस सोसाइटी सँग आबद्ध रहँदै विपद् व्यवस्थापन तथा राहत कार्यमा समेत सक्रिय भूमिका खेल्नुभएको अनुभव उहाँसँग छ।
राजतन्त्रविरुद्धको आन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएकी रिमालले बहुदलीय लोकतन्त्र सुदृढीकरणमा योगदान पुर्याउँदै आएकी छन्।
नवनियुक्त मन्त्री रिमालले लमजुङ तथा गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, कृषि र जडीबुटी क्षेत्रको उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रको प्रभावकारी उपयोगमार्फत रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राख्नुभएको छ।
उद्योग तथा पर्यटन मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएसँगै उहाँको नेतृत्वमा गण्डकी प्रदेशको आर्थिक तथा पर्यटन विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ। लमजुङका स्थानीय बासिन्दाले समेत उहाँको नियुक्तिले जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।