१० वर्ष कैद सजाय ठहर भएका जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका सुर्खेत विरेन्द्रनगर-१२ घर भएका ४२ वर्षीय ईन्द्रबहादुर नेपालीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।
लामो समयदेखि लुकिछिपी काठमाडौंको नागार्जुन नगरपालिका-२ पानधारा बस्दै आएका नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बिहीबार सोही स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका नेपालीलाई अदालतको फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतले उनलाई तोकिएको कैद भुक्तानका लागि कारागार चलान गर्ने प्रक्रिया अघि बढाएको छ।