गलत लिखत प्रकरणमा मालपोतका दुई कर्मचारीसहित तीन जनालाई कैद सजाय
विशेष अदालतले गलत लिखत तयार गरेको अभियोगमा महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीसहित तीनजनालाई कैद तथा जरिवानाको फैसला गरेको छ।
बुधबार विशेष अदालतले ०८० साउनमा साविक इटरहर्वाकट्टीको ५ कठ्ठा १२ धुर जग्गा राजीव कुमार ठाकुरको नाममा कम्प्युटर प्रणालीमार्फत स्रेस्ता अद्यावधिक गरिएको प्रकरणमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।
करिब तीन महिनाअघि दायर मुद्दामा अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले फैसला गरेको हो। अदालतले नासु साहलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा कम्प्युटर अपरेटर सिंहलाई ३ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको छ। सोही प्रकरणमा संलग्न ठाकुरलाई पनि समान सजाय सुनाइएको छ।
यसैगरी, अदालतले तीनै जना प्रतिवादीबाट जनही १ हजार ६ सय रुपैयाँका दरले पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने व्यवस्था समेत गरेको छ।