गण्डकीमा एचए र स्टाफ नर्स पढाइ सुरु गर्ने तयारी तीव्र
गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँगको सहकार्यमा एचए र स्टाफ नर्स विषयको पठनपाठन यस वर्षदेखि सञ्चालन गर्ने तयारी अघि बढाएको छ।
प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार गोरखाको आँपपीपल अस्पतालमा एचए र बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने योजना रहेको छ। प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको कार्यक्रम यसपटक तीव्रताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालय र CTEVT बीचको संयुक्त छलफलपछि आवश्यक पूर्वाधार, बजेट र व्यवस्थापकीय तयारी पूरा गर्ने निर्णय भएको हो। सम्बन्धित अस्पतालहरूमा भौतिक संरचना र जनशक्ति तयारी लगभग सम्पन्न भइसकेको जनाइएको छ।
स्टाफ नर्सको सैद्धान्तिक कक्षा बागलुङ नगरपालिकास्थित CTEVT भवनमा र व्यावहारिक अभ्यास धवलागिरि अस्पतालमा गर्ने योजना छ। यस्तै आँपपीपल अस्पतालमा एचए पढाइका लागि थप पूर्वाधार विकासको काम भइरहेको छ।
प्रदेश सरकारले पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ भने ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गरी स्वास्थ्य जनशक्ति उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।