बयान फेर्ने सरकारी साक्षीविरूद्ध अख्तियारले दायर गर्याे मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर अधिकारी जोडिएको घुस प्रकरणमा सरकारी साक्षीका रूपमा रहेका राजमान तामाङविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अनुसन्धानका क्रममा आयोगलाई सहयोग गर्ने सर्तमा सजायमा पूर्ण छुट पाएका हिमाल तराई कन्स्ट्रक्सनका प्रोप्राइटर तामाङले अदालतमा पुगेर आफ्नो बयान फेरेपछि (होस्टाइल भएपछि) उनी विरुद्ध मुद्दा चलाइएको हो ।
नेपाल बैंकबाट ऋण मिलाइदिने सहजीकरणका लागि अध्यक्ष अधिकारीले रमेश आचार्यमार्फत तामाङसँग ५ लाख रुपैयाँ घुस लिएको र उक्त रकमको चेक अधिकारीकै घरबाट बरामद भएको थियो ।
अनुसन्धानका क्रममा तामाङले घुस दिएको स्वीकार गर्दै आयोगलाई सहयोग गरेका कारण उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।
तर, विशेष अदालतमा बकपत्र गर्ने क्रममा तामाङले आयोगमा गरेको बयान र सङ्कलित प्रमाण विपरीत हुने गरी बयान दिएपछि आयोगले उनलाई पुनः प्रतिवादी बनाएको हो ।
तामाङले गैरकानुनी लाभका लागि अधिकारीलाई घुस दिएको र पछि अदालतमा झुटो बकपत्र गरी भ्रष्टाचारको कसुर लुकाउन खोजेको ठहर गर्दै अख्तियारले ५ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।