जबरजस्ती करणी गरेको अभियोगमा ५ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट ५ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-५ रझेना बस्ने २१ वर्षीय आशिष थारू, सोही नगरपालिका-६ बस्ने २७ वर्षीय सन्दिप थारू, २१ वर्षीय निरज थारू र १६ वर्षीय किशोर रहेका छन् । उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
झापामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा बिर्तामोड नगरपालिका-८ बस्ने २८ वर्षीय प्रविण सुन्दासलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रविणले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।